किशोरीलाई जीउन र भविश्य देखाउन सिकाउने चलचित्र हो मालिका

नेपाली चलचित्र उद्योगमा नायिका रेखा थापा ‘हिरोइन’भन्दा पनि ‘हिरो’को छवि बनाएर बसेकी अभिनेत्री हुन् । उनले आफूलाई अभिनयमा मात्रै सीमित राखेकी छैनन्, उनी निर्देशनमा पनि उत्रिएकी छन् । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालिका’ लाई रेखा स्वयंले निर्देशन गरेकी छन् । महिला सशक्तिकरणका लागि चलचित्रभित्र र बाहिरबाट पनि आवाज उठाउँदै आएकी उनले महिलाका विषयलाई चलचित्रमा उठाउँदै आएकी छन् । यो पटक पनि उनले चलचित्र ‘मालिका’ मार्फत किशोरीको आवाजलाई मुखरित गर्ने प्रयास गरेकी छन् । ‘मालिका’ मा मुख्य भूमिकामा समेत रहेकी उनै रेखासँग ‘मालिका’ का विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको छोटो कुराकानीः
० ० ०

‘मालिका’ कस्तो खालको चलचित्र हो, यहाँकै शब्दमा भन्दा ?

‘मालिका’ छोरीहरुलाई आत्म जागरण गराउने, डर मुक्त बनाएर भविश्य देखाउने चलचित्र हो । 

तपाईं महिला सशक्तिकरणका लागि अभियान चलाउँदै हिँड्ने व्यक्ति, यही अभियानको निरन्तरता हो भन्न मिल्छ ?

त्यो पनि भन्न मिल्छ । किन भने मैले १८ वर्ष देखि चलचित्रका माध्यमबाट महिला शसक्तिकरणकै लागि काम गरिरहेको छु । यो एउटा अभियान हो । यसलाई हामी सबैले ठूलो अभियानका रुपमा लिन सकिन्छ । छोरीहरुको मुक्तिको आन्दोलनका रुपमा लिन सकिन्छ । अहिले जसरी बलात्कार, महिलामाथि हुने हिंसा र बाल विवाहका घटना भइरहेका छन् र परम्परागत मान्यता समाजमा विद्यमान छ । ती चिजहरुलाई तोडेर जान पनि काम गर्नु पर्ने अवस्था छ । यसका लागि पनि मैलै ‘मालिका’ निर्माण गरेकी हुँ । 

महिला सशक्तिकरणको कुरालाई चलचित्रमार्फत देखाउँदा दर्शकले मनोरञ्जन र सामाजिक चेतना एकैपटक दिन कत्तिको सहज हुन्छ ?

यो कथा पनि हो । कर्णालीकी छोरीको कथा हो । मधेसकी छोरीको कथा हो । यसो भनिरहँदा तपार्ईहरुलाई त्यही मात्रै देखाइन्छ भन्ने होइन । जीवनमा हाँसो पनि हुन्छ, रोदन पनि हुन्छ । एक्सन र झगडा पनि हुन्छ । बाधा र ब्यबधान पनि झेल्नुपर्छ छोरीले खुसी हुनका लागि । कथा केन्द्रमा रहेर बन्छ चलचित्र । चलचित्रका लागि आवश्यक सबै पक्ष छन् । कमेडी र गीत पनि छ । डकुमेन्ट्री बनाएका होइनौं कमर्सियल मुभी हो यो । दर्शकले सिटी र ताली बजाउनु हुन्छ मालिका हेर्दा ।

समाजमा भइरहेका यस्ता प्रकृतिका घटनालाई चलचित्रमा उन्नका लागि कत्तिको गाह्रो हुँदोरहेछ ?

कुन तरिकाले लिने भन्ने कुरा हो । विषय उठाउँदा अलि सेन्सेटिभ त हुनैपर्छ । पहिला देखि नै महिलाको विषय उठाउने भएकाले मेरा लागि चुनौती छ र हुन्छ । तर त्यती धेरै गाह्रो चाहिँ भएन । 

यसअगाडि ‘रुद्रप्रिया’ मा पनि समाजमा घटिरहेको अपराधिक घटनालाई उठान गर्नु भएको थियो । तर, त्यसले अपेक्षित सफलता हात पार्न सकेको थिएन । यो चलचित्र भनेर दर्शकलाई कसरी विस्वस्त तुल्याउनु हुन्छ ? 

‘रुद्रप्रिया’ एउटा सीमित विषयमा बनेको चलचित्र थियो । महिलाहरु राम्रो रुप हुँदा पनि सुरक्षित छैनन् । प्रेम अस्वीकार गर्दा पनि एसिडको सिकार हुनुपर्छ भन्ने सीमित कन्टेन्ट थियो । तर ‘मालिका’मा हामीले जुन विषय उठान गरेका छौं यो हरेक घरमा भइरहेको विषय हो । तपाईंको आमालाई लगेर देखाउँदा पनि यसले छुन्छ । उहाँले मैले पनि भोगेको हो तर त्यही बेला मैले यो कुरा उठान गरेको भए हुन्थ्यो नि भन्ने लाग्छ । ‘रुद्रप्रिया’ र ‘मालिका’मा आकाश जमिनको फरक छ । 

‘मालिका’मा तपाईंले रियल पात्रलाई स्क्रिनमा लिएर आउनु भएको छ । रियल पात्रले आफ्नै कथा भनेपनि पर्दामा न्याय नगरेको देखिने हो की !
यसका लागि त तपाईंले पनि चलचित्र नै हेर्नुपर्छ । तर मलाई कत्ति पनि शंका छैन । कर्णालीकी छोरीको कथा त्यही भूगोलकी किशोरीले प्रतिनिधित्व गरिरहेकी छिन् । मैले गरे जस्तै हरेक व्यक्तिले अभिनय गर्नुपर्छ भन्ने छैन । तर निर्देशकको आँखाले हेर्दा उनले न्याय गरेकी छन् । कर्णाली र पूरै नेपालले स्यालुट गर्ने विषय हुनेछ । जो बोल्न लजाउँछ, धकाउँछ उहाँहरुका लागि आत्मविश्वास गर्ने माध्यम बन्ने छिन् कमला वली । 

कमेडी चलचित्र चले भनेर अधिकांश चलचित्र निर्माता तथा निर्देशक त्यतैतिर ढल्किरहेका बेला तपाईंले भने आफ्नो वेस छोड्नु भएको छैन । व्यवसायिक हिसावले किन चुनौती मोल्न तयार हुनुभयो ? 
हिजोबाट नै मैले यही विषय उठान गर्दै आएको छु । आआफ्नो कन्टेन्ट र रुची हुन्छ । जिम्मेवार कलाकारका हिसावले  समाजमा घटिरहेका घटनाप्रति मेरो जिम्मेवारी के हुन्छ मैले सोच्नुपर्छ । मैले मेरो जिम्मेवारी निभाइरहकी छु । जे ट्रेन्ड जलिरहेको छ त्यसलाई फलो गर्ने मेरो बानी छैन । म आफैँ ट्रेन्ड मेकर हो । त्यसैले म यो विषय आजीवन छोड्दिन होला ।

जवसम्म मेरो देशका दिदीबहिनीहरु सशक्त र आत्मविश्वासी हुँदैनन् मेरो यो अभियान चलचित्रमार्फत र चलचित्रबाहिरबाट पनि । जुन ट्रेन्ड चलरिहको छ त्यो पनि ठिकै छ रमाइलो हुन्छ, हाँसिन्छ, हाँस्नु स्वास्थ्यका लागि फाइदा पनि हो । तर जिन्दगीमा एक पटक आफ्नो, आफ्नो परिवार र आफ्नो देशका विषयमा गम्भीर भएर पनि सोच्नुपर्छ । जिम्मेबारी पूरा गरेपछि पो खुसी हुन मजा आउँछ ।

कलाकर्मीले आफ्नो उत्तरदायित्व निभाउन नसकेका हुन् ? 

यो अरुलाई नै सोध्नुस् । मलाई यो प्रश्न सोध्नु नै गलत भन्छु म । म कलाकारिताको क्षेत्रबाट पनि क्रान्ति गर्न सक्छौं भनेर लागिरहेको छु । यसमा मैले ध्यान दिइरहेको छु । पुरुष त यहाँ यसै पनि सशक्त छन् । पुरुषलाई त यसै विशेषाधिकार छ । पुरुष मध्यरातमा एक्लै सडमा हिँड्न सक्छ । तर एउटी किशोरी आफ्नै घरको आँगनमा पनि सुरक्षित छैन । त्यसैले महिला दिदी बहिनीमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने मेरो अभियान हो । उहाँहरु आँफैं डिफेन्सिभ हुनुपर्छ । कला क्षेत्रका मान्छेले किन सामाजिक विषय जुन उठाउनु पथ्र्यो र सक्थे तर उठाएनन् भन्ने कुरामा आआफ्नो दिमाग हुन्छ, आआफ्नो भिजन हुन्छ ।

त्यही अनुसार काम गर्ने हो । कसैलाई पैसा मात्रै कमाउन मन लाग्छ । कसैलाई समाज परिवर्तन भएको हेर्न मन लाग्छ । देश परिवर्तन भएको खण्डमा पैसा आफैं आउँछ हेर्न मन पर्छ । भित्र पीडै पीडा छ तर हलमा दुई घण्टा हँसाएर केही हुँदैन । चलचित्रले पनि जीवन जिउन र भविश्य देखाउन सक्नुपर्छ । हरेक किशोरीले आफ्नो स्कुलको प्रत्येक शिक्षक र आफ्नो अभिभावकलाई हलमा लगेर ‘मालिका’ देखाउनु पर्छ । 
म आफैं पनि गम्भीर छु । तर के म हाँस्दिन र ? खुसी हुँदा कफी स्टेशनमा बसेर चलचित्र हेर्दिन र ? सामाजिक विषय उठान गरे पनि चलचित्र रङ्गीन छ । चलचित्रमा कथा हुनेवित्तिकै त्यसका वरिपरी पात्र हुन्छन् । पात्रसँगै घटना परिघटना घटिरहन्छन् र दर्शकलाई अब के हुन्छ भन्ने कौतुहल हुन्छ । त्यो ‘मालिका’मा छ । 

प्रतिकृया दिनुहोस