सरकारले सर्वसाधारणलाई सार्वजनिक सवारी चढ्ने सुविधा नदिने हो भने निजी सवारीमा उच्च कर लगाउनु हुँदैन

डेढ दशकदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय आकाश गोल्छा यसमा आफू र आफ्नो व्यवसायको भिन्नै ‘ब्रान्ड’ बनाउन सफल छन् । पछिल्ला केही वर्षदेखि विस्तारै बढ्दै गइरहेको नेपाली अटो बजारबाट हौसिएका उनी आठ वर्षयता अमेरिकी ब्रान्ड ‘फोर्ड’ का गाडी बिक्री गर्दै आइरहेका छन् । गएको वर्ष करिब १ हजार ३ सय थान फोर्ड गाडी बेच्न सफल उनी आफ्ना ग्राहकलाई सरल मूल्यमा उत्कृष्ट गाडी र बिक्रीपछिको उत्कृष्ट सेवा उपलब्ध गराउन दिनरात मिहिनेत गरिरहेका छन् । उनै गोल्छासँग फोर्ड गाडीको नेपाली बजारको वर्तमान अवस्था र चुनौती तथा समग्र अटोमोबाइल बजारमा सरकारले हेर्ने दृष्टिकोण, व्यवहारबाट व्यवसायी सहज–असहज कस्तो अवस्थामा छन् र अटो बजारलाई थप व्यवस्थित र उपभोक्तामैत्री बनाउन के गर्न सकिन्छ लगायत विविध विषयमा बाह्रखरीका सुशील भट्टराई र रोविन पौडेलले गरेको कुराकानीः 

 

डेढ दशकको अनुभवमा नेपालको अटो बजार कसरी विकास भएको देख्नुभएको छ ?
अटो क्षेत्रको १५ वर्षे अनुभवमा मैले धेरै सुधार भएको अनुभूति गरेको छु । उपभोक्ताको हितमा धेरै सुधार भएका छन् भने उनीहरू स्वयं बढी सजग भएको पाएको छु । उदाहरणका लागि वितरकहरूले टेस्ट ड्राइभ गर्न दिन थालेका छन् भने उपभोक्ता इन्टरनेटमा गाडीबीच तुलना गरेर आफूलाई उत्कृष्ट गाडी छान्न थालेका छन् । हामी पनि सोहीअनुसार आफूलाई अपग्रेड गर्दै आएका छौं ।

 

नेपाली अटो बजारमा प्रतिस्पर्धा कस्तो छ ?
नेपालमा नयाँ कम्पनीसँगै गाडीका मोडल पनि थपिएका छन् । प्रतिस्पर्धा बढ्नु राम्रो हो । प्रतिस्पर्धाले हामीलाई बढी ‘इफिसिएन्ट’ बन्नुपर्छ, सेवाको स्तर उकास्नुपर्छ, सवारी बिक्रीको अफर पनि बढी आकर्षक बनाउनुपर्छ भन्ने विषयमा धेरै नै सहयाग पुगेको छ । प्रतिस्पर्धाले हामीलाई आफ्नो स्तरोन्नति गर्न सिकाउँछ ।

 

सरकारले अटो व्यवसायलाई अनुत्पादक भन्ने गरेको छ । यसलाई कसरी लिनुहुन्छ ? अटो व्यवसायीलाई सरकारले कसरी हेरेको पाउनुहुन्छ ?
सरकारी नीतिको प्रभाव उपभोक्तासँगै व्यवसायीलाई पनि परेको छ । भाग्यवश फोर्डसँग धेरै ठूलो सीसी भएको गाडी छैन र १ हजारभन्दा कम सीसी भएका गाडी पनि छैन । हाम्रो ठूलो सेग्मेन्टमा रहेको ‘इन्डिएभर’ गाडीको मूल्य बढ्ने भएकाले यसको बिक्री घटेको छ । १२ सय सीसीदेखि १५ सय सीसीसम्मको गाडीमा केही कर बढेको छ र मूल्यमा पनि प्रभाव परेको छ । समग्र अटो व्यवसाय नै खस्किएको अवस्थामा प्रयोगकर्ताले हाम्रो गाडीको माग कम गरेका होलान् तर यो क्षणिक हो । सरकारी नीतिका कारण गाडी बिक्री बन्द नै हुने होइन, बिक्रीचाहिँ कम हुन थाल्छ ।

 

फोर्डको कुरा गरौं । तपाईंहरूको बजार उपस्थिति कस्तो छ ?
पछिल्लो वर्षको तुलनामा फोर्डको बजार क्रमशः बढिरहेको छ । फोर्डको व्यवसाय घट्ने–बढ्ने नभएर सामान्य छ । बजारमा तरलताको समस्या हुँदा अन्य कम्पनीको व्यवसाय प्रभावित भए पनि हामीलाई भने असर पारेन । बजारमा हाम्रो व्यवसाय वृद्धिदर स्थिर छ । गत वर्ष नोभेम्बरमा आएको नयाँ इकोस्पोर्ट, मार्चमा आएको फ्रिस्टाइल फोर्ड प्रमुख बिक्री हुने मोडल हुन् । यी दुवै गाडीसहित समग्रमा व्यापार राम्रो छ । नेपाली बजारमा अटो व्यवसायको अवस्था खस्किएको भए पनि हामीले हाम्रो मार्केट सेयर घट्न दिएनौँ ।

 

नेपाली बजारमा फोर्डको बजार हिस्सा कस्तो छ ?
गाडी संख्याको कुरा गर्दा गत वर्ष हामीले १ हजार २ सय ८० थान गाडी बेच्यौं । कुनै समय वार्षिक २४ हजार गाडी बिक्री भएको नेपाली बजारमा गत वर्ष १४ हजार थानमात्र गाडी बिक्री हुँदा पनि हामीले १२ सयभन्दा बढी गाडी बेच्न सक्नु भनेको बजारमा राम्रो पकड जमाएका थियौं भन्ने निष्कर्ष छ ।

 

फोर्डको बिक्रीपछिको सेवा कस्तो छ ? कत्तिको गुनासो सुन्नुपरेको छ ?
पक्कै पनि आफ्टर सेल्स सर्भिसमा सबै खुसी हुन सक्दैनन् तर, हामीले हाम्रा ग्राहकलाई खुसी पाएका छौं विशेषगरी स्पेयर पार्ट्समा  । हाम्रो सर्भिस स्टेसन विस्तार गर्दैछौं । धेरै कम्पनीको काठमाडौंभन्दा बाहिर सर्भिस सेन्टर छैन तर हामीले फोर्डको ‘रिक्वायरमेन्ट’ अनुसारको सर्भिस सेन्टर स्थापना गरेका छौं । काठमाडौंमा मात्रै चाबहिल र स्वयम्भू गरी दुई ठाउँमा सर्भिस सेन्टर स्थापना गरेका छौं । हाम्रो ग्राहकले स्तरीय सेवा समयमै पाइरहेका छन् ।
हाम्रा जनशक्तिलाई पनि समय–समयमा तालिम प्रदान गर्दै आएका छौं । गाडीमा प्रयोग हुने प्रविधि विकाससँगै जनशक्तिलाई ‘अपग्रेड’ गराउन जरुरी रहेको आवश्यकता देखेका छौं । पुरानै सीप रहेका जनशक्तिले हाम्रा गाडी प्रयोगकर्तालाई सन्तुष्टि दिँदैनन् । हाम्रो कम्पनीका गाडी प्रयोगकर्ता खुसी नभए उनीहरूले नयाँ ग्राहकलाई सुझाव दिँदैनन् भन्ने हामीले बुझेका छौं ।

 

ग्राहकले फोर्डको गाडी नै किन किन्ने ?
ग्राहकले गाडी किन्दा ‘भ्यालु अफ मनी’ विचार गर्नुपर्ने हुन्छ । ग्राहकले एउटै मूल्यमा अन्य गाडीको तुलनामा बढी फिचर फोर्डमा पाउन सक्नुहुन्छ । हाम्रो स्पेयर पार्ट्सको मूल्य एकदमै प्रतिस्पर्धी तथा सस्तो रहेकोमा विश्वस्त छौं । फोर्ड गाडीको सर्भिस इन्टरभल लामो छ अर्थात् छोटो समयमै फोर्ड सर्भिसिङ गरिरहनुपर्दैन । सन् २०१० मा हामीले गाडी ल्याउँदा ३–३ महिनामा गाडी सर्भिसिङ गरिन्थ्यो, अहिले एक वर्ष वा १० हजार किलोमिटर कुदेपछि मात्र सर्भिस गर्न थालेका छौं । अहिले अरुले हामीबाट सिक्न थालेका छन् । 
नेपालमा फोर्ड नआएसम्म ‘कस्ट अफ अनरसिप’ को कुरा गरेको थिएन । सर्भिस र स्पेयर पार्टस्को खर्च कम हुने गाडी कम्पनीमा हामी अग्रस्थानमा छौं । हामी सर्वसुलभ छौं । आवश्यकता परे वितरक, व्यवस्थापकसँगै मसँग पनि समस्या राख्न सक्नुहुन्छ । नचिनेको नम्बरबाट फोन आए पनि मेरो फोन उठ्छ । त्यसबाहेक फोर्डको इन्फोटेनमेन्ट सिस्टम पनि उत्कृष्ट छ । सुरक्षाको दृष्टिकोणले फोर्ड एकदमै सुरक्षित छ । फोर्डको सबै गाडीमा कम्तिमा डुअल एयर ब्याग तथा एबीएस उपलब्ध छ । 

 

मार्केट सेयर बढाउन फोर्डलाई के चुनौती छ ?
प्रतिस्पर्धाका कारण चुनौती थपिएको छ तर, पछिल्लो समय हामी धेरै सुधारिएका छौं । फोर्डका इकोस्पोर्ट, फ्रिस्टाइलमा अपग्रेडेड इन्जिन प्रयोग गरिएको छ । एस्पायर र फिगो पनि नयाँ तथा सुधारिएको इन्जिनमा आउँदैछन् । हामी अन्य कम्पनीभन्दा प्रतिस्पर्धी छौं । चुनौती भए पनि हाम्रो प्रयास हामी अन्यभन्दा उत्कृष्ट छौं भनेर जानकारी गराउँदै छौं । यसबाहेक हामी काठमाडौं बाहिर पनि उत्कृष्ट शोरुम तथा सर्भिस सेन्टर निर्माणमा लगानी गर्दैछौं । काठमाडौं बाहेक वीरगन्ज र चितवनमा हाम्रो उच्चस्तरीय सर्भिस सेन्टर सञ्चालनमा छन् । विस्तारै भैरहवा र नेपालगन्जमा पनि शोरुम र सर्भिस सेन्टर स्थापनाको तयारी गरेका छौं ।

 

पछिल्लो पटक विद्युतीय कार विकास र प्रयोगलाई तीव्रता दिइएको देखिन्छ र नेपालमा पनि यो ‘ट्रेन्ड’ बढेको छ । विद्युतीय गाडीप्रति फोर्डको बुझाइ र तयारी कस्तो छ ?
फोर्डको पनि विद्युतीय गाडी छन् तर कम्पनीसँग विद्युतीय सवारी ल्याउने कुरा गर्दा कम्पनीले यस्ता गाडी सञ्चालनको पूर्वाधार कस्तो छ भनेर सोध्ने गरेको छ । नेपालमा विद्युतीय गाडी प्रयोग गर्ने नेपालीसँग दुईवटा गाडी पक्कै हुन्छ । उनीहरूले छोटो दूरीका लागि विद्युतीय गाडी प्रयोग गरे पनि लामो दूरीको यात्रामा भने इन्धन भर्ने गाडी नै प्रयोग गर्छन् । यसपछाडिको कारण हो– विद्युतीय कारको चार्ज सकिएपछि बाटोमा चार्ज गर्ने अवस्था नहुनु । फोर्डले नेपालमा विद्युतीय कारको पूर्वाधार निर्माण नभएसम्म प्रयोगकर्ताबाट फोर्ड इलेक्ट्रिक गाडीको पर्फर्मेन्स फिडब्याक आउन गाह्रो हुने भएकाले तत्कालका लागि फोर्डको इलेक्ट्रिक गाडी ल्याउन गाह्रो देखिन्छ ।

 

सिंगापुर, थाइल्यान्ड, भारतलगायत एसिया–प्रशान्त क्षेत्रका उच्च उपभोक्ता भएका र विकसित देशमा पनि फोर्डको विद्युतीय कार आइसकेका छैनन् । पूर्वाधार विकास नभएका कारण उपभोक्ताबाट विद्युतीय कार प्रयोगको फिडब्याक राम्रो नआउने देखिएको छ तर, फोर्डले राम्रो तयारी गरिरहेको छ । अन्य कम्पनीको तुलनामा उच्च प्रविधि प्रयोग गरिएको तथा उपभोक्तालाई उच्च सन्तुष्टि दिने विद्युतीय कार फोर्डले बनाउँदै छ । यसअघि ‘मोडल टी’ नामक ‘रिभोल्युसनरी प्रोडक्ट’ ल्याएको थियो । यो मोडलले अन्य कम्पनीलाई कार कसरी बनाउने भन्ने सिकायो । 

 

फोर्डले ल्याउने विद्युतीय कार पनि अर्को ‘रिभोल्युसनरी प्रोडक्ट’ हुनेमा हामी ढुक्क छौं । सो कारले पनि अन्य कम्पनीलाई विद्युतीय कार कसरी बनाउने भन्ने सिकाउँछ । त्यस्तो कार सन् २०२० सम्म सार्वजनिक गर्ने फोर्डको तयारी छ । फोर्ड दुई किसिमको विद्युतीय कार बनाउँदै छ । पहिलो, इन्धन हाल्ने कारलाई विद्युतबाट सञ्चालन गर्ने । दोस्रो, इन्धन हाल्नेभन्दा एकदमै सस्तो । तर, दुवै प्रकारका कार २०२० सम्म आउने अपेक्षा गरिएको छ । २०१९ मा यो सम्भव छैन ।

 

विद्युतीय गाडीप्रति तपाईंको व्यक्तिगत बुझाइ कस्तो छ ?
‘तपाईं विद्युतीय गाडी किन चलाउनुहुन्छ ?’ भनेर कसैलाई सोध्दा उसको जवाफ हुने गर्छ, ‘विद्युतीय कार वातावरणमैत्री छ ।’ तर, तपाईंले अहिलेको विद्युतीय कार साँच्चै वातावरणमैत्री छ भनेर कहिले मनन गर्नुभएको छ ? जुन दिन नेपालमा खपत हुने विद्युत पूर्णतः नेपालमा उत्पादन भएको जलविद्युतमात्रै हुने छ, तबमात्र नेपाललाई हरित ऊर्जा प्रयोग गर्ने देश भनेर लिन सकिन्छ । अहिले नेपालमा प्रयोग हुने विद्युत आधाभन्दा बढी भारतबाट आउँछ । भारतबाट नेपाल आउने विद्युत भनेको ‘फोसिल फ्युल’ (कोइला–डिजेल–पेट्रोल) बाट उत्पादन हुने विद्युत हो ।

 

मानौं, नेपालमा १० हजार थान विद्युतीय कार बिक्री भए भने त्यसका लागि आवश्यक विद्युत भारतबाट आउने हो । यसअर्थमा ती कारले खपत गर्ने ऊर्जा पूर्णतः हरित ऊर्जा होइन । जुन दिन नेपाल आफ्नै जलविद्युत उत्पादनबाट यहाँको विद्युत माग धान्न सक्षम हुन्छ, त्यस अवस्थामा मात्र विद्युतीय कार प्रयोग गर्न उचित हुन्छ । विद्युतीय कारमा प्रयोग हुने ब्याट्री पनि वातावरणमैत्री छैनन् । ती ब्याट्री डिस्पोज गर्ने तरिका पनि उचित छैनन् । यो अवस्थामा उपभोक्ताले ‘ड्युटी फ्री’ भएको सस्तो विद्युतीय कार किन्ने कि वातावरणमैत्री नभएको कार प्रयोग गर्ने भन्ने निक्र्यौल गर्न जरुरी छ ।

 

यसको अर्थ विद्युतीय गाडी प्रयोगका लागि नेपाल अझै तयार भएको छैन भन्ने हो ?
उपभोक्ताले विद्युतीय कार किन्नु पहिले यहाँ पूर्वाधारको अवस्था कस्तो छ भन्ने बुझ्न जरुरी छ । काठमाडौंबाट पोखरा जाँदा बाटोमा चार्ज गर्नुपर्ने अवस्थामा चार्ज गर्न मिल्ने पूर्वाधार विकास भएपछि मात्र यहाँ विद्युतीय कार प्रयोग सहज हुन्छ । यसमा सरकार वा इलेक्ट्रिक कार कम्पनीले मिलेर काम गर्न सक्छन् । मेरो बुझाइमा नेपालमा विद्युतीय कारको अवस्था ‘अन्डाभित्रको चल्ला’ जस्तो छ ।

 

गाडी फाइनान्सिङमा तपाईंहरूको भूमिका के हुने गरेको छ ? फाइनान्सिङ दर परिवर्तन हुँदा उपभोक्ता मारमा परेका छन् नि होइन ?
नेपालमा केही बैंकले यस्तो दर परिवर्तन गरेका छन् । यसमा हाम्रो केही भूमिका हुँदैन । ब्याज दर परिवर्तन बैंकहरूको नीतिअनुसार हुने हो । नेपाल राष्ट्र बैंकको नयाँ नियमले हतार गरेर ब्याज दर बढाउन रोकेको छ । ब्याज दर बढाउने अवस्थामा प्रि–पेमेन्ट चार्ज लिन नपाउने व्यवस्था पनि भएको छ । यो उपभोक्ताको हितमा छ । हामीले सुविधा दिने हो तर फाइनान्सिङ दर हाम्रो हात बाहिर छ ।

 

अटो क्षेत्रलाई प्रवद्र्धन गर्न तपाईंहरूको भूमिका के छ ?
हाम्रो बुझाइमा अटो क्षेत्र प्रवद्र्धन गर्न नेपालको सडक तथा ट्राफिक व्यवस्थापन पहिलो प्राथमिकतमा हुनुपर्छ । हाम्रो छाता संगठन नाडाबाट पनि पहल भइरहेको छ । पूर्वाधार विकासमा राम्रो सुधार छ । कलंकीमा अन्डरपास, नदी करिडोर निर्माण हुनु एउटा सकारात्मक र उदाहरणीय पक्ष हो ।

 

नेपालीले आफ्नो निजी सवारी चढ्नुपर्छ भन्न नाडाबाट कस्तो लबिङ हुने गरेको छ ?
नेपालमा सानो गाडीमा कूल २ सय ५५ प्रतिशत भन्सार तिर्नुपर्छ, ठूलो गाडीमा तिर्ने भन्सार दर ३ सय ५० प्रतिशतसम्म हुने गर्छ । हामीले सवारी प्रयोगमा उपभोक्ताको हितमा सरकार हुनुपर्छ भन्ने लबिङ गरे पनि सरकार यस क्षेत्रबाट ठूलो मात्रामा कर असुल्न भन्सार दर कम गर्ने पक्षमा रहँदैन । नेपालमा निजी गाडी चढ्नेहरू पनि सिंगापुर वा हङकङ जाँदा सार्वजनिक सवारी वा रेल चढ्ने गर्छन् किनकि त्यहाँ सुरक्षा र सहजता दुवै आधारमा सार्वजनिक सवारीको प्रयोग उचित छ । सर्वसाधारणका हितमा यातायात प्रणाली ल्याउने हो भने सार्वजनिक सवारीसाधन विकास गर्नुपर्छ । सरकारले सर्वसाधारणलाई सार्वजनिक सवारी चढ्ने सुविधा नदिने हो भने निजी सवारीमा उच्च कर लगाउनु हुँदैन ।

 

जीओ अटोमोबाइल्सको हेभी इक्विपमेन्ट व्यवसायबारे बताइदिनोस् न !
हामीले ह्युन्डाई हेभी इक्विपमेन्ट बिक्री गर्दै आएका छौं । हेभी इक्विपमेन्टतर्फ एस्काभेटरमा हामी नेपालको पहिलो नम्बरमा छौं । यसमा रहेको ३० प्रतिशत मार्केट सेयर अझ बढ्दै छ । हाम्रो सर्भिस र पार्ट्स पनि सस्तो तथा प्रतिस्पर्धी भएकाले हाम्रो उपस्थिति राम्रो छ ।

 

आफ्नो कम्पनीको प्रगतिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
व्यवसायीहरू सधैं आफ्नो व्यवसायले बढी नाफा गरेको देख्न चाहन्छन् । ‘वी अल्वेज वान्ट मोर ।’ अहिलेसम्म हामीले राम्रो गरेका छौं । अहिले नै सन्तुष्ट हुन मिल्दैन ।

प्रतिकृया दिनुहोस