‘एक वर्षभित्र १० लाख पर्ने फक्सवागन विद्युतीय कार ल्याउँछौं’

अठार वर्षदेखि सवारीसाधन (अटोमोबाइल) क्षेत्रलाई नजिकबाट नियालिरहेका  विवेक बिजुक्छे जर्मन ब्रान्ड फक्सवागनका गाडीलाई नेपाली बजारमा पहिलो स्थानमा पुर्‍याउने जिम्मेवारी लिएर बसेका छन् । पछिल्लो अवधिमा नेपाली अटोमोबाइल क्षेत्रमा फक्सवागन गाडीले आफ्नो भिन्नै पहिचान बनाउन सफल भएको छ । सामान्य मान्छेको बुझाइमा फक्सवागन भन्ने बित्तिकै असाध्यै महँगो गाडी भन्ने छ, तर यसलाई गलत साबित गर्न बिजुक्छे दिनरात नभनी आक्रमक हिसाबमा काम गरिरहेका छन् । गाडीप्रेमीले फक्सवागनका गाडी किन खरिद गर्ने, यसका विशेषता के हुन्, नेपालमा यसको बजार हिस्सा, वर्तमान अवस्था, अटोमोबाइल क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण र व्यवहार, अनि समग्रमा यो क्षेत्रका समस्या, प्रतिस्पर्धा र चुनौतीबारे फक्सवागन गाडीको नेपालस्थित आधिकारिक विक्रेता पूजा इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) बिजुक्छेसँग बाह्रखरीका सुशील भट्टराई र रोविन पौडेलले गरेको कुराकानी :

नेपाली अटोबजारमा फक्सवागनको अहिलेको अवस्था कस्तो छ ?

पछिल्ल्लो तीन–चार वर्षमा अमेरिकी मुद्रा शक्तिशाली बन्दै जाँदा जर्मनीबाट हुने आयात घटेको छ । उपभोक्ताले फक्सवागन भनेपछि जर्मन गाडी नै प्रयोग गर्न रुचाउँथे तर, पछिल्लो समय भारतमा उत्पादित गाडी प्रयोग हुन थालेको छ । जसमा कम मूल्यमा धेरै फिचर तथा अप्सन भएको गाडी प्रयोग गर्ने ट्रेन्ड आएको छ ।

युरोपेली कम्पनीमा सेफ्टी फिचर र दायित्व उच्च हुन्छ । उपभोक्ताले माग नगरे पनि सुरक्षा तथा गुणस्तर उत्पादन समयदेखि नै उत्कृष्ट राखिएको हुन्छ । त्यसकारण हामीले मूल्यमा प्रतिस्पर्धा गर्न सकेका थिएनौं । त्यसकारण हाम्रो मार्केट सेयर घटेको थियो तर लामो समयसम्म चलेको छलफलमा हामीले भारतीय उपमहाद्वीपमा सर्भाइभ गर्न सस्तो र बलियो मोडल निकाल्नुपर्ने सुझाव दियौं । सुरक्षामा सोही स्तर कायम गरेर इन्धन खपत घटाए यहाँको बजारमा आफ्नो स्थायित्व कायम गर्न सकिने रहेछ भन्ने हामीले बुझ्यौं । त्यसैगरी ‘कस्ट अफ मेन्टिनेन्स’ पनि कम गर्नुपर्ने देखियो । यही कुरा मध्यनजर गरेर हामीले कम सिसीको गाडी निकालेका छौं । स्पेयर पार्टसको मूल्य पनि घटेर आएको छ । यही माध्यमबाट हामी नेपाललगायत भारत, बंगलादेश, श्रीलंकाका उपभोक्ताको मन जित्न चाहन्छौं ।

यसपालिको नाडा अटो शोमा तपाईंहरूको यो प्रयासको प्रतिक्रिया कस्तो पाउनुभयो ? उपभोक्ताले अब फक्सवागन नै किन रोज्ने त ?

हामीले नाडा अटो शो सुरु हुनुभन्दा केही दिनअघि फक्सवागन पोलो १.० सार्वजनिक गरेका हौं । १ हजार सिसीको यो गाडीले राम्रो माइलेज दिने, मेन्टिनेन्स खर्च कम भएको तथा मूल्य पनि कम भएका कारण उपभोक्ताबाट यसको प्रतिक्रिया सोचेको भन्दा राम्रो छ । यसपालिको नाडा अटो शो सुरु भएको तीन दिनमै यो गाडीबारे जानकारी लिन आउनेको संख्या साढे ७ सयभन्दा बढी पुगेको थियो । जसमध्ये ६० जनाले बुकिङ गरिसक्नुभएको छ । 

यसअघि अवलोकनकर्ताहरू हाम्रो स्टलमा नछिर्नुको कारण जान्न हामी उत्सुक हुन्थ्यौं तर अहिले आएर बुझ्यौं कि जनमानसमा फक्सवागन भन्ने बित्तिकै महँगो गाडी हो भन्ने छाप परेको रहेछ । तसर्थ, उहाँहरू हाम्रो स्टल तथा शोरुम पनि छिर्न डराउनुहुने रहेछ । यसपालि हामीले सर्वसाधारणको त्यो धारणालाई चिर्दै साढे २५ लाख रुपैयाँमा फक्सवागन गाडी उपलब्ध गरायौं । यो समाचार जब सर्वसाधारणमा पुग्यो, सबैको ध्यान हामीतर्फ मोडिएको छ । नाडा अवधिभर आगन्तुकहरू पनि ‘साढे २५ लाखको फक्सवागन गाडी कुन हो ?’ भन्दै सोध्दै आएका थिए । पोलोको माध्यमबाट हामीले नयाँ तरंग ल्याउन सकेका छौं ।

यही रेन्जका अन्य गाडीसँग पोलो १.० को प्रतिस्पर्धा कस्तो देख्नुहुन्छ ?

जर्मन भाषामा फक्सवागनको अर्थ ‘जनताको कार’ भन्ने हुन्छ । आउने दुई वर्ष नेपालीको कार पोलो १.० नै हुन्छ भन्ने हाम्रो आशा छ किनकि कम मूल्यमा पोलो १.० जस्तो सेफ्टी फिचर स्ट्यान्डर्ड भएको गाडी नेपालमा पाइँदैन । पोलो १.० मा उपलब्ध फिचर भएका गाडी पोलोको प्राइस रेन्जमा बजारमा अरु कुनै कम्पनीले पनि अफर गरेका छैनन् । नाडामा यो गाडीबारे बुझ्न आउने आधाजतिले किन्ने आँकलन छ । उता भारतमा बने पनि फक्सवागनलाई कसैले भारतीय गाडीको रूपमा लिएनन् । हामीले यो सोच चिर्ने प्रयास गरेका छौं ।

हामीले पनि यो गाडी बेच्दा धेरै मार्जिन राखेका छैनौं । यस हिसाबले हेर्दा आजको दिनमा पैसाको मूल्यांकनका आधारमा सर्वसाधारणले किन्न सक्ने गाडी ल्याएका हौं । पोलोको बिक्रीले बजारमा गति लिन्छ भन्न सक्ने दुई आधार छन् । पहिलो यसका सेफ्टी फिचर र

दोस्रो यसको सिसी । ९ सय ९९ सिसीको गाडी भएकाले यो गाडीमा रहेको ट्याक्स एड्भान्टेज अन्य गाडीमा पाइँदैन 

 

सबै नेपालीले आफ्नै गाडी चढ्न पाउनुपर्छ भन्नेमा तपाई कतिको सहमत हुनुहुन्छ ? तपाईंहरुले यस विषयमा कसरी लबिङ र बजारीकरण गर्दै आउनुभएको छ ?

म त्यो कुरा मान्ने पक्षमा छैन । नेपालको अर्थतन्त्र रेमिट्यान्सले चलेको अर्थतन्त्र हो । ३ करोडको जनसंख्या भएको देशले ७ खर्ब रेमिट्यान्स कमाउनु भनेको वर्षमा बढीमा २ लाख नयाँ गाडी किन्ने क्षमता नेपालीको छ । तर, त्यो सम्भव छैन । सबै नेपालीसँग यो क्षमता पनि छैन । अहिलेको अवस्थामा व्यक्तिगत कारको आवश्यकता पनि त्यति छैन । अर्को कुरा, हाम्रो आफ्नै स्रोत नभएका कारण इन्धनबाट चल्ने सवारी आयात गरेर पनि कुनै उपलब्धी छैन । तसर्थ, विद्युतीय सार्वजनिक यातायातमा जोड दिनुपर्ने अवस्था आएको छ । हरेक घरमा एउटा सवारी प्राविधिक रूपमा सम्भव पनि छैन, आर्थिक हिसाबमा राम्रो पनि हुन्न ।

सवारी किन्दा मिल्ने फाइनान्सिङको व्यवस्था अहिले कस्तो छ ? यसले व्यवसायमा कस्तो चुनौती दिइरहेको छ ? बैंकको भूमिका कसरी हेर्नुभएको छ ?

फाइनान्सिङको मागभन्दा आपूर्ति बढी छ । नयाँ व्यवस्थाअनुसार बैंकहरूलाई दुई वर्ष राम्रो पर्फर्मेन्स गरेको कम्पनीका माध्यमबाट मात्र फाइनान्सिङ गर्न सर्कुलर भइसकेको छ । यसकारण बैंकले लगानी गर्ने ठाउँ पाउन सकिरहेका छैनन् । तसर्थ, अटो क्षेत्रमा फाइनान्सिङ सहज छ । सिधा भाषामा भन्नुपर्दा, हामीले ‘फाइनान्सिङ गर्दिनुस्’ भन्ने हैन, उहाँहरु नै ‘फाइनान्सिङ गर्नुपर्‍यो उपभोक्ता पठाइदिनोस्’ भनेर हामीकहाँ आउने गरेका छन् । तर, बैंकहरू आफ्नो फाइदामात्र हेर्छन् । जब एकजना व्यवसायी लोन लिएर, उद्यमी बन्नुको साथै रोजगारी सिर्जना गर्न चाहन्छ भने यहाँको नीति नै बाधक बनेर उभिन्छ । अहिलेको व्यवस्थाअनुसार एक महिना किस्ता तिरेन भने कालोसूचीमा राखिन्छ । जसमा फेरि कर्जा उपलब्ध गराइन्न ।

एउटै क्षेत्रमा १ सयवटा व्यवसाय छन् भने ९० वटा डुब्नु स्वभाविक हो । १० वटा व्यवसायले गरेको योगदानको यहाँ कदर हुने गरेको छैन । आजको दिनमा उपभोक्ता निरीह हुने गरेका छन् । उनीहरूलाई जाने गरेको गलत सन्देश कम गर्न सरोकारवाला निकायको ध्यान गएको खै ? तर अहिले सबैभन्दा बढी कर तिर्नेमा बैंक अगाडि देखिए पनि सरकार त्यो देखेर दंग नपरे हुन्छ किनकि उनीहरूले गरेको नाफा व्यवसायीबाट ब्याजको रूपमा हो ।

व्यवसायीले सवारीसाधन बिक्री गर्दा मार्जिन धेरै राखे भन्ने सुनिन्छ । यसप्रति तपाईंको धारणा के छ ?

म नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सदस्य पनि हुँ । अब हामीले अधिकतम खुद्रा मूल्य स्थिर राख्ने र डिस्काउन्ट नदिने योजना बनाउने लागेका छौं । हालको कुरा गर्दा बजारमा अधिकतम खुद्रा मूल्य र ग्राहकलाई बेच्ने मूल्य फरक हुन्छ । बजारमा बढेको प्रतिस्पर्धाका कारण खुद अधिकतम खुद्रा मूल्य मार्जिन २० प्रतिशतभन्दा बढी राखिएको छैन ।

२० प्रतिशत पनि बढी हैन र ?

सरकारी निकायका अनुसार भन्ने हो भने लागत मूल्यमा भन्सारलगायत कर जोडेर मूल्य निर्धाण गर्नुपर्ने हुन्छ । तर, लेखाको सिद्धान्तअनुसार मूल्य निर्धारण हुँदा विभिन्न शुल्क, दस्तुर, शोरुम खर्च तथा भाडा, कर्मचारीको तलब, इन्धन खर्च, ब्याज, सजावट आदिमा नाफा राखेर मूल्य निर्धारण गरिन्छ । तसर्थ, कम्पनीहरूको खुद लागत दर हेर्दा १५ देखि २० प्रतिशतभन्दा बढी मार्जिन पाउनुहुन्न । ग्रस प्रोफिट अझै कम हुन्छ । अर्कोतर्फ अटो क्षेत्र त्यही क्षेत्र हो जसले १० लाखलाई रोजगारी दिएको छ । राजस्वमा यस क्षेत्रको २५ प्रतिशत योगदान छ । किटानै गरेर भन्नुपर्दा यो त्यही क्षेत्र हो जहाँ १ सय रुपैयाँको सामान आयात गर्दा २ सयदेखि ३ सय रुपैयाँसम्म सरकारको ढुकुटीमा जम्मा हुन्छ । सरकारलाई यति धेरै योगदान गर्ने क्षेत्र अरु कुनै पनि छैन । पछिल्लो समय बढेको ब्याज दरका कारण कम्पनीहरूको ब्यालेन्स सिटमा खुदा नाफामा ठूलो गिरावट आएको छ ।

तपाईंले अटोमोबाइल क्षेत्रमा सँगालेको १८ वर्षे अनुभव नियाल्दा यो क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

सरकारी नीति निर्माण गर्ने तहमा रहेकाहरू २० वर्षे अनुभवी छन् । उहाँहरूलाई अझै पनि त्यो समयको सडकमा गुड्ने २० देखि २५ हजार सवारीमात्र याद छ । उहाँहरूको संकीर्ण सोचले गाडी चढ्ने भनेका हुनेखाने हुन् भन्ने बुझेको छ तर, जमाना फेरिएको छ । अहिले हेर्ने हो भने सवारीसाधन भएन भने केही हुँदैन र, विडम्बना नेपालमा १ प्रतिशत जनताको मात्र आफ्नो गाडी छ ।

हामीलाई गरिब राष्ट्र भनिने गरेको छ । हामी गाडी अफोर्ड गर्न सक्दैनौं भने, सरकारले सार्वजनिक सवारी सुविधासम्पन्न बनाउनुपर्ने हो तर त्यो गर्न सकेको छैन । त्यसो गरे सर्वसाधारणले सुविधासम्पन्न सवारी चढ्न पाउँथे, मोटरसाइकल चढ्नेको संख्या कम हुन्थ्यो । म आफैं पनि अफिस आउँदा सार्वजनिक सवारी चढेर आउने थिएँ । गाडी चलाउने समयको साटो थप समय सिर्जनशील भएर सोच्ने थिएँ । यदि विकसित मानसकिताबाट आएका नीति निर्माण भएका थिए पनि यो सास्ती नै हुन्न थियो । हाम्रो लागि यो ठूलो चुनौती हो ।

अटोमोबाइल क्षेत्रलाई उत्पादनमूलक क्षेत्र मान्नु कतिको जायज हो ? देश विकासमा यो क्षेत्रको योगदानलाई कसरी लिनुभएको छ ?

उत्पादनमूलक क्षेत्र त म भन्दिनँ तर, हामी विकासको बाटोमा धेरै अघि बढ्नुपर्ने छ । हामी पछाडि परिसकेका छौं । देश विकासका लागि यातायात पूर्वाधार विकास गर्न अत्यन्तै जरुरी छ । यातायातले वस्तु तथा सेवा आदानप्रदान गर्न सहज तुल्याउँछ । छिमेकी देश भारत र चीनको कुरा गरौं । चीन किन अगाडि र भारत पछाडि हुनुको कारण यातायात पूर्वाधारको विकास नै हो किनकि भारतको यातायात शुल्क चीनको भन्दा ३ देखि ४ गुणा बढी छ । यही नै मूल कारण हो । नेपाल विकासमा पछाडि परेको कारण खोतल्दा यहाँको यातायात कर उच्च रहनु नै मूल कारण हो । मेरो बुझाइमा यो शूल्क विश्वकै सबैभन्दा उच्च छ । यही कारण हामीले विदेशमा सस्तोमा बनेका सामान खपत गर्नुपर्ने अवस्था आएको हो । नेपालमै उत्पादितभन्दा सस्तो भए पनि हामीले छिमेकी देशमा भन्दा ६० देखि ७० प्रतिशत बढी मूल्य तिरेका हुन्छौं 

 

फक्सवागन जस्तो विश्वप्रसिद्ध ब्रान्डलाई नाडा अटो शो कतिको महत्वपूर्ण हुन्छ ?

भनिन्छ ‘कस्टमर इज अल्वेज राइट’ । हामी भौतिक रूपमा उपभोक्तामाझ प्रस्तुत भएमात्र उनीहरूको माग बुझ्न सकिन्छ । नभए उपभोक्ता हामीकहाँ आउने दिन समाप्त भइसकेको छ । जुनसुकै व्यवसायमा पनि उपभोक्तासँगको बातचित सदैव सकारात्मक नै हुन्छ ।

अन्य देशको तुलनामा हाम्रो देशको अटो शो निकै भिन्न छ । अन्य देशमा कम्पनीहरूले कुन नयाँ मोडल ल्याउन लागे भन्ने जानकारी दिन अटो शो गरिने भए पनि नेपालमा गरिने अटो शो किनबेचमै केन्द्रित रहेको हुन्छ । नेपालको अटो शोमा उत्पादनहरू बुकिङसमेत गरिने हुन्छ । अन्य देशमा प्रयोगमा आइरहेका सवारी प्रदर्शनीमा नराखिने भए पनि नेपालमा भने त्यो अभ्यास छैन । दोस्रो कुरा, हाम्रो बजार विकासशील बजार हो । तसर्थ, नयाँ उपभोक्तासामु अन्तक्र्रिया आवश्यक हुन्छ । यसका लागि नाडा अटो शो उचित हो । हामी त्यसबाट हट्न मिल्दैन ।

फक्सवागनको नेपाली बजारको उपस्थिति कस्तो छ ? मार्केट सेयर कति हो ?

पहिले हामी बजेट सेग्मेन्टमा थिएनौं तर, प्रिमियम सेग्मेन्टमा हाम्रो मार्केट सेयर २० प्रतिशतको हाराहारीमा थियो । तर, पोलो लन्च गरेसँगै हामी बजेट सेग्मेन्टमा प्रवेश गरेका छौं । हाम्रो मार्केट सेयर १२ प्रतिशत हुने अपेक्षा गरेका छौं । अहिले वार्षिक १० हजार थान गाडी बिक्री हुने गरेको छ । खस्किएको बजारमा ब्याज दर नघटेसम्म अटो क्षेत्रको भविष्य उज्ज्वल देख्दिनँ । उपभोक्ताले गाडी किन्ने भनेको रेमिट्यान्सबाटै हो तर, रेमिट्यान्सको वृद्धि नहुनुले अटो क्षेत्रको प्रगति संकेत गर्दैन ।

नयाँ उपभोक्ताले फक्सवागन नै किन किन्ने ?

मान्छेको जस्तै गाडीको पनि जिन हुन्छ । सवारी उपभोगमा उपभोक्ताको स्वाद कोरियन, जापानिज, युरोपियन, अमेरिकन हुन् । फक्सवागन युरोपियन पावर हाउस हो । हामीजस्ता कम्पनीले २० वर्षपछिको आवश्यकता हेरेर अहिले नै गाडी डिजाइन गर्ने क्षमता राख्दछौं । युरोपियन प्रविधि, सुरक्षा, बलियोपन, इन्जिन लाइफमा उत्कृष्ट हुन्छ । फक्सवागनजस्तै भारतमा उत्पादित अन्य गाडीको तुलनामा फक्सवागनको गियर बक्स, बडी तथा इन्जिनको लाइफ २ देखि ३ गुणा बढी पाउनुहुन्छ । उदाहरणका लागि हाम्रो सेग्मेन्टका अरु गाडीको वजनभन्दा फक्सवागनको गाडी २ देखि ३ सय केजी बढी हुन्छ ।

बाहिरबाट त्यो बढी देखिँदैन, तर सेफ्टी फिचरका कारण त्यो वजन थपिएको हुन्छ । यो कुरा धेरै उपभोक्ताले बुझ्दैनन् । म पनि पहिले फक्सवागन गाडीले धेरै तेल खपत गर्छ भन्ने सोच्थेँ तर, गाडीको वजनका कारण तेल खपथ बढेको भन्ने बल्ल थाहा पाउँदै छु । तैपनि १ हजार सिसीको गाडी आए पनि त्यो समस्या पनि हटेर गएको छ । 

आफ्टर सेल्स सर्भिस (बिक्रीपछिको सेवा) मा कस्तो चुनौती छ ?

हामीलाई सुरुमा ठूलो चुनौती थियो किनकि हाम्रो मानव संशाधन भारतीय, जापानी र कोरियाली तथा कोरियन गाडीमा काम गरेका थिए । यही कारण समस्या भयो । सुरुको ४/५ वर्ष उपभोक्ताले समस्या भोग्नुपरेको थियो तर, भारतमै फक्सवागन निर्माण हुन थालेपछि स्पेयर पार्टस पनि त्यहाँबाट आयात गर्न सहज भएको छ । अहिले आएर केही समस्या छैन ।

सर्वसाधारणले अहिले के बुझ्न जरुरी छ भने अरु कुनै सवारीको तुलनामा फक्सवागनको आफ्टर सेल्स मेन्टिनेन्स खर्च एकदमै कम छ किनकि अरु गाडी ४/५ हजार किलोमिटर गुडेपछि सर्भिसिङ गर्नुपरे पनि फक्सवागन १५ हजार किलेमिटर कुदेपछि मात्रै सर्भिसिङ गर्दा हुन्छ । इन्जिन लाइफको कुरा गर्ने हो भने नेपालमा अहिलेसम्म बिक्री गरेका ३५ सय फक्सवागन गाडीमा साढे २ लाख किलोमिटर गुडेका गाडी पनि छन् । तीमध्ये एउटाको पनि इन्जिन खोलिएको छैन । अरु गाडीको हकमा १ लाख किलोमिटर गुडेपछि इन्जिन खोल्नु सामान्य मानिन्छ । दाबी नै गर्नुपर्दा हामीले सात वर्षअघि बेचेको गाडीको नम्बर प्लेट निकालियो भने ब्रान्ड न्यु कार भन्दा कम्तीको देखिँदैन ।

नेपाली बजामा फक्सवागनका आगामी लक्ष्य के छन् ?

विद्युतीय कार । अबको दुई वर्षमा हामीले आठवटा एसयुभी, सेडा र ह्याचब्याक गरी १२ मोडलका विद्युतीय गाडी लन्च गर्ने योजना बनाएका छौं । फक्सवागन विद्युतीय कारमा विश्वमै पहिलो नम्बरमा पर्ने लक्ष्यसाथ अघि बढेको छ । हाम्रो विडम्बना भनौं, युरोपमा युरो–६ को गाडी उत्पादन हुँदा नेपालकम युरो–३ को गाडीमात्र आउँथ्यो । अबको दिनमा हामी विद्युतीय युगमा गएपछि विश्वमा आएको प्रविधि तुरन्त नेपाल ल्याउन सक्छौं । फक्सवागनको मास प्रोडक्सनको बेस हेर्दा प्रतिस्पर्धामा रहेका अन्य कम्पनीको तुलनामा फक्सवागनले निकै कम मूल्यमा विद्युतीय कार उत्पादन गर्न थाल्छ ।

हामीले पनि अहिले सरकारलाई साथ दिन १ हजार सिसीको गाडी ल्यायौं । सन् २०१९ को मध्यदेखि हामी पनि विद्युतीय गाडी ल्याउने योजनामा छौं । हामीले ल्याउने गाडी फुल चार्ज गर्दा कम्तिमा ३ सय किलोमिटर कुद्ने र नेपाली सडकअनुसारको ग्राउन्ड क्लियरेन्स भएको हुने छ । त्योभन्दा महत्वपूर्ण, मूल्य हेर्नुहुन्छ भने हामीले ल्याउने गाडी अविश्वनीय सस्तो हुने छ । इन्धन लाग्ने गाडीमा २ सय ५० देखि ३ सय प्रतिशतसम्म कर लाग्ने गर्छ तर, विद्युतीय गाडीमा भने ३० प्रतिशतभन्दा बढी कर लाग्ने छैन । यसको अर्थ, हामीले ल्याउने विद्युतीय सवारीको मूल्य अहिले बेचिरहेको पेट्रोल–डिजेल गाडीभन्दा आधा सस्तो पर्ने छ ।

अरु कम्पनी र फक्सवागनले विद्युतीय गाडी निकाल्नुमा धेरै फरक छ । ती कम्पनीको विद्युतीय गाडी इन्धन लाग्ने गाडीभन्दा दोब्बर मूल्य पर्छ भने फक्सवागनको भने आधा पर्छ । यो भन्नुको तात्पर्य आज साढे २५ लाख रुपैयाँमा उपलब्ध पेट्रोल लाग्ने पोलो १.० विद्युतीय बनाउने हो भने यो गाडीको सुरुवाती मूल्य १० लाख रुपैयाँमात्र हुने छ । यसो भयो भने मोटरसाइकल सवारी गर्ने आजको उपभोक्ता इलेक्ट्रिक गाडीमा अपग्रेड गर्ने चान्स बढ्छ । इन्धन लाग्ने सवारी चढ्दा इन्जिन बिग्रिन्छ, गियर बक्स बिग्रिन्छ । मेन्टिनेन्स खर्च उच्च हुन्छ तर, विद्युतीय सवारी चढ्नुको फाइदा नै यही हो कि यसमा बिग्रिने केही पार्टस नै हुँदैन । एउटा ब्याट्री र एउटा मोटर भए गाडी चल्छ । झन्झट हराएर जान्छ ।

विद्युतीय सवारीका चुनौती के छन् ?

अरुले कुरा गरेजस्तो चार्ज गर्ने काम विद्युतीय सवारीका लागि चुनौती हैन । फक्सवागन जस्तो बहुराष्ट्रिय कम्पनीका लागि नेपालमा सबैभन्दा ठूलो चुनौती भनेको वारेन्टी कभर हो । विद्युतीय कारको गुरुत्व केन्द्र मिलाउनको लागि ब्याट्री गाडीको तल्लो भागमा राखिएको हुन्छ । नेपालमा तल्लो भागमा राख्दा ब्याट्री ठोक्किने, पानी पस्नेजस्ता समस्या हुन्छन् । नोक्सान हुन्छ, सबै कुरा बिमाले कभर गर्दैन । दोस्रो, गाडीमा लिथियम–आयोन ब्याट्री राखिएको हुन्छ । त्यो आगो लाग्यो भने निभाउने प्रविधि तथा विज्ञ नेपालमा छैन । यदि आगो लागेर कसैको मृत्यु भए, नेपालमा विद्युतीय सवारीको भविष्यबारे ठूलो प्रश्न चिह्न उठ्छ । नेपालमा विद्युत उत्पादन पनि बढ्दो छ । त्यसैले अरु चुनौती देख्दिनँ ।

मेन्टिनेन्स खर्च कम भयो भने अटो व्यवसाय नै धरापमा नपर्ला ?

इन्धनबाट ठूलो राजस्व उठाउँदै आएको नेपालमा विद्युतीय गाडी आयात हुन थाले भने सरकारलाई नै चुनौती पनि थपिएला । पक्कै पनि मेन्टिनेन्स खर्चबाट आउने आय कम हुन्छ, ग्यारेज बन्द हुन थाल्छन् । भविष्यमा आउने इलेक्ट्रिक गाडी स्मार्ट हुनेछन्, जसले सवारीधनीलाई नै पार्ट्स कसरी फेर्ने जानकारी गराउने छ । डु–ईट–बाइ–सेल्फका कारण पनि ग्यारेज बन्द हुन सक्छन् । स्मार्ट कारले दुर्घटना पनि कम गराउँछ ।

रिपेयर गर्ने पार्ट्स फेर्ने पनि कम हुन थाल्छन् । यही कारण वर्कसपको बिजनेस निकै घट्नेवाला छ । फक्सवागनले पनि विक्रेताहरूलाई नयाँ तथा अत्याधुनिक वर्कसप–शोरुम नखोल्न र कस्ट घटाउन विश्वभर सर्कुलर गरिसकेको छ तर, अत्तिनुपर्ने अवस्था पनि छैन । हाम्रो सडकमा अहिलेसम्म बिक्री भएका सवारी गुड्ने नै छन् भने सतप्रतिशत विद्युतीय सवारी आउने भन्ने पनि हैन ।

प्रतिकृया दिनुहोस