सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरि काम भैरहेको छ : जोशी

काठमाडौं– नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने गरि कामहरु भैरहेको बताएका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत जोशीले ‘भिजिट नेपाल –२०२०’ लागि चाहिने पूर्वाधारहरु निर्माणको लागि कामहरु धमाधम भैरहेको बताएका हुन् ।  

मूल आयोजक समितिको गठन, प्रशासनिक सचिवालय गठन विज्ञ छनौट गर्ने कामको साथै आवश्यक विभिन्न तालिमहरु पनि संचालन भैरहेको जानकारी दिए । नेपालको पर्यटन मौसममा आधारित भए पनि पर्यटकहरु कम आउने न्यू मौसममा पनि विभिन्न किसिमका पर्यटन प्याकेजहरु बनाएर प्रचार–प्रसार गर्न थालेको पनि बताए । पर्यटन क्षेत्रमा सेवा प्रदायकले दिने सेवालाई समेत ध्यान दिएर कामहरु अगाडी बढेकोले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक सजिलो गरि नेपाल भ्रमणमा आउने बताए ।

कार्यक्रममा बोल्दै कार्यकारी अधिकृतले जोशीले भूकम्प पहिले नेपालमा पर्यटकको संख्या प्रतिवर्ष दश लाख रहेकोमा पछिल्ला दुई वर्षभित्र नेपालले सोचेकोभन्दा बढी नै पर्यटक भित्र्याउन सफल भएको बताए ।  पछिल्लो समयमा पर्यटन बोर्डले नेपालमा पर्यटकहरु बढाउनको लागि ‘डिजिटल–मार्केटिङ’ लाई महत्वका साथ अगाडि बढाएको बताए ।  यस्तै कार्यकारी अधिकृत जोशीले विश्व चर्चित सेलिब्रेटीहरुलाई पनि नेपालको भ्रमण गराएर विश्वमै नेपालको पयर्टनको प्रचारप्रसार गर्ने आफूहरुको योजना रहेको कार्यक्रममा जानकारी दिए ।

प्रतिकृया दिनुहोस