‘पेजेन्ट नेपाल बुटवल फेसन सो’ सम्पन्न

रुपन्देही । प्रदेश ५ को राजधानी बुटवलमा फेसन सो कार्यक्रम सम्पन्न भएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर सो देखाइएको थियो । बुटवलको मिलन चोकस्थित एसियन भिलेज रिसोर्टमा आयोजना भएको उक्त फेसन सोको लागि अडिसन राउन्डबाट छनोट भएका ४५ जना महिला तथा पुरुष मोडल विभिन्न थिममा र्याम्पमा उत्रिएका थिए । एक हप्तासम्मको प्रशिक्षणपश्चात् मोडललाई र्याम्प वाकसम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो । आविष्कार खनाल र स्मारिका तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा कोरियोग्राफर स्वस्तिका कार्कीको कोरियोग्राफीमा र्याम्पमा उत्रिएका मोडलबीच अभिनेता श्रीदेव भट्टराई, अभिनेता पूर्णिमा लामा र कलाकार दीपक लक्की लगायत उक्त कार्यक्रममा उपस्थित थिए ।  कार्यक्रममा नेपालका चर्चित फेसन डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गरिएको थियो । सोमा विभिन्न संस्कृति झल्कने पहिरन, वेस्टर्न ड्रेस, फेन्सी ड्रेस, गाउन तथा ढाकाका पहिरन पहिरिएर मोडलले र्याम्प नापेका थिए । पेजेन्ट नेपालका अध्यक्ष राज लुइँटेलले नेपाली संस्कृतिलाई चिनाउने लक्ष्यका साथ कार्यक्रम गरिएको बताए । त्यस्तै, सांसद निर्मला क्षेत्रीले फेसनबाट नेपाललाई विश्वमा चिनाउन सकिने बताइन । उनले फेसन सोलाई मर्यादित तरिकाले अगाडि बढाउन सके यसको भविष्य राम्रो हुनेमा जोड दिइन् ।  राजधानीमा मात्र सिमित रहेको फेसन शो लाई मोफसलम पनि स्थापित गर्नुपर्ने भन्दै आयोजना गरिको उक्त फेसन शो मा कार्यक्रम एसोसिएट्स वरिष्ठ उद्घोषक गोपाल प्रसाद अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदयलगायतले बोलेका थिए ।  कार्यक्रममा सहभागी हुन राजधानीबाट इभेन्ट अर्गनाइजर डेभिल सिंह राजपुत, सञ्चारकर्मी माधवराज खरेल, सौन्दर्य व्यवसायी सुसिला थापा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, मोडल आशा थापा, प्रज्ञा ढुंगेललगायत दर्जनभन्दा बढि कलाकर्मीहरु बुटवल पुगेका थिए । कार्यक्रममा गायक ध्रुव बिस्को, नितु कोइराला, सपन श्रेष्ठ, विनोद ढकाल, दीपक लक्की, पुर्णिमा लामा, सावित्री जोशी, नन्दा बस्याल, ईन्दिरा भटटराईलगायत स्थानीय स्तरका कलाकारहरुले गीत, सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक तथा पेजेन्ट नेपालकी सिइओ ममथा बस्नेतले राजधानी लगायत देशका विभिन्न स्थानमा इभेन्टहरु सञ्चालन गर्दै आएको बताइन् । 

 

प्रतिकृया दिनुहोस