रामेछापको मन्थलीमा संचालित शुभलक्ष्मी हार्डवेयरमा जिल्ला प्रशासनको ताला


रामेछाप । मंसिर १२ गते,
जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा संचालित एक हार्डवेर पसलमा शिलबन्दी गरेको छ । हार्डवेयरले म्याद गुज्रीएको सामान बेचेको ,प्राइभेट फर्म नविकरण नगरेको र बिलहरुमा अनियमितता गरेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको गएको जिल्ला अनुगमन समितिको टोलिले बुधबार शुभलक्ष्मी हार्डवेयर तथा सप्लायर्समा शिलबन्दी गरेको हो ।
नागरिकहरुको गुनासोपछि आफुहरुले पटक पटकको अनुगमन पछि सच्चिन  आग्रह गर्दा उल्टै अनुगमन टोलीलाईनै अभद्र व्यवहार गरेपछि हार्डवेयर पसलमा शिल गरिएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले बताए ।
उनले जिल्ला प्रशासनको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय ,घरेलु तथा साना उद्योग समिति ,मन्थली नगरपालिका , मन्थली नगरपालिका वडा नं १ , रामेछाप उद्योग बाणिज्य संघ , राष्ट्रिय उपभोक्ता मञ्च र नेपाल पत्रकार महासंघ रामेछापका प्रतिनिधिहरुको रोहवरमा लगाइएको ताला आर्काे आदेश नआएसम्म नखुल्ने बताए । अनुगमन टोलीका सदस्य एवं रामेछाप उद्योग वाणिज्य संघ रामेछापका वरिष्ठ उपाध्यक्ष केशव घिमिरेले जिल्ला प्रशासनले लगाएको तालाका बारेमा आफूहरुलाई पुर्ण जानकारी नरहेको बताए । उनले हार्डवेयरमा लगाइएको तालका बारेमा रामेछाप उद्योग वाणिज्य संघ थप अनुसन्धान गर्ने बताए ।
यता ताला लगाइएको शुभलक्ष्मी हार्डवेयर तथा सप्लायर्सका संचालक सिताराम श्रेष्ठले भने आफुमाथि अनुगमन समितिले गलत आरोप लगाएर ताला लगाएको बताए । उनले अनुगमन टोलीमाथि आफूले अभद्र व्यवहार नगरेको दावि गर्दै अनुगमन समितिले प्रभावकारी बजार अनुगमन गर्न नसकेको आरोप समेत लगाए । रामेछापको सदरमुकाम मन्थलीमा मात्रै एक दर्जन भन्दा बढि हार्डवेयर पसलहरु संचालनमा छन् । हार्डवेयर पसलको सेवालाई लिएर पटक पटक सर्वसाधारण र नागरिक समाजबाटै विभिन्न गुनासाहरु आउने गरेका छन् ।

 

प्रतिकृया दिनुहोस