रामेछापको गौरीशंकर माध्यामिक विद्यालयमा निर्मित भवन हस्तान्तरण


रामेछाप । मंसिर १८ गते,कैलाश खत्री,
रामेछापको  पुरानो सदरमुकाम रामेछाप बजारमा अवस्थित जिल्लाकै पूरानो गौरीशंकर माध्यामिक विद्यालयको नवनिर्मित भवन मंगलबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवाली र नेपालका लागि अमेरिकी राजदुत एण्डी बेरीले एक कार्यक्रमका बिच संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । वि.सं २०७२ मा गएको महाभूकम्पको कारण गौरीशंकर माध्यामिक विद्यालयको सबै भवनहरु ध्वस्त भएको थियो । यु.एस.एड को आर्थिक सहयोगमा कुल ११ करोड ३३ लाख ३ हजार खर्च गरि ६ वटा भवन बनेका हुन् ।
जसमा २६ वटा कक्षाकोठा रहेका छन् । त्यसैगरि २ वटा शौचालय समेत बनाईएको छ । स्वच्छन्द खानी जेभी कम्पनीले भवन  निर्माणको जिम्मा लिएको थियो । त्यस कार्यक्रममा बोल्दै गौरीशंकर माध्यामिक विद्यालयका प्रधानध्यापक निर बहादुर कार्कीले सुविधा सम्पन्न विद्यालय भवन बनाइदिएकोमा दातृ निकाय लाई धन्यवाद दिए । त्यसैगरि कार्यक्रममा बोल्दै केन्द्रिय आयोजना कार्यन्वयन ईकाई शिक्षा तर्फका आयोजना निर्देशक प्रमुख इभनारायण श्रेष्ठले विद्यालय सबै हिसावले ठिक रहेको भन्दै १७ महिनाको अवधिमा पुरा भएको जानकारी दिए ।  
त्यसैगरि नेपालका लागि अमेरिकी राजदुत एण्डी बेरीले भूकम्प पछिको पुननिर्माणमा अमेरिकी सरकारको तर्फबाट सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवाली ले भूकम्पबाट प्राभावित भएका १४ जिल्लाका ७ हजार विद्यलय मध्ये ४ हजार विद्यालय निर्माण भइसकेको बताउदै रामेछाप जिल्लामा भने विद्यालय  भवन निर्माणको कार्यले निकै गति लिएको बताए । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरे ।
त्यस अवसरमा निर्माणको जिम्मा लिएको स्वच्छन्द खानी जेभी कम्पनीका प्रमुख रत्नप्रसाद गौतमले विद्यालय प्रशासनलाई  साँचो हस्तान्तरण गरे । केन्द्रिय आयोजना कार्यन्वयन ईकाइ रामेछापका प्रमुख हेमन्त कुमार बुढाथोकी, नेकपा रामेछापका सचिव आनन्द कुमार श्रेष्ठ, नेपाली कांग्रेसका सचिव लेख बहादुर कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, एशियाली विकास बैंकका प्रतिनिधि लगायत रामेछाप नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस