रामेछापको रामपुरमा निर्मित खानेपानी योजना उपभोक्ता समितिलाई हस्तान्तरण


रामेछाप । मंसिर १९ गते,
नेपाल रेडक्रस सोसाइटीको अन्तराष्ट्रिय महासंघको आर्थिक तथा प्राविधिक सहयोगमा रामेछाप नगरपालिका वडा नंम्बर ५ रामपुरमा निर्माण गरिएको खानेपानी योजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भुकम्प प्रतिकार्य कार्यक्रम मार्फत निर्माण गरिएको बालकन्या लिफ्ट खानेपानी योजनाको बुधबार स्थानिय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । कुल २ करोड ६० लाख ८७ हजारको लागतमा निर्माण गरिएको खानेपानी योजनाबाट रामपुरको २ सय २१ घरधरीको १५ सय आठ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । नोपाल रेडक्रस सोसाइटीको तर्फबाट एक करोड ४३ लाख, रामेछाप नगरपालिकाबाट ४३ लाख ५४ हजार, समुदायबाट १३ लाख ७० हजार र समुदायको श्रमदानबाट ६० लाख ५७ हजार लागतमा सो योजना निर्माण भएको हो ।
योजना हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजिव थापाले बृहत खानेपानी योजनाको दिर्घकाल सम्म निरन्तरता दिन स्थानिय समुदायनै लाग्नु पर्ने बताउनु भयो । उहाँले दाताहरुले बनाएको योजना सफल भइरहेको दाताहरुको चाहना हुने भएकोले खानेपानी योजनाको भविष्यबारे स्थानिय सरकारले पहल गर्नु पर्ने बताउनु भयो । यस्तै रेडक्रस सोसाइटीको अन्तराष्ट्रिय महासंघ एसिया प्यासफिकका निर्देशक हेवेर कास्फियर होलानले खानेपानी मावन स्वास्थ्य जिवन भएको र यस्तो क्षेत्रमा सहयोग गर्न पाउदा आफु धेरै खुसि भएको बताउनु भयो । उहाँले खानेपानी योजनाको संरक्षण र संम्बर्धन गर्न स्थानियहरुको ठुलो भुमिका हुने बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले खर्चिलो खानेपानी महशुल मिलान गर्न स्थानिय सरकार र प्रदेश सरकार संग समन्वय गर्ने बताउनु भयो । यस्तै रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर मगरले नगरपालिकाले पाँच बर्षे रणनितिक योजना बनाएको र त्यसैको एक अंश रामपुरको खानेपानी योजना पनि रहेको बताउनु भयो । उहाँले नगरपालिका वृत्तचित्र नगर प्रोफाइल छिट्टै प्रकाशन गर्ने तयारी रहेको पनि बताउनु भयो । कार्यक्रमका सभापति एवं नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले सबैको सहयोग र सहकार्यले योजना सफल भएको बताउनु भयो । उहाँले दाताले बनाएर छोडेको योजनाको मर्मत संम्भार उपभोक्ता आफैले गर्नु पर्ने भन्दै स्थानियहरुलाई योजनाको संरक्षण तर्फ ध्यान दिन आग्रह गर्नु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेकपाका नेता आनन्द श्रेष्ठ, नेपाली काङ्ग्रेसका जिल्ला सचिव लेख बहादुर कार्की, वडा नंम्बर ५ का वडाध्यक्ष भिमबहादुर तामाङ, पत्रकार बद्रि नयाँघरे लगाएतले बोल्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस