समुदाय–प्रहरी कार्यक्रमको रामेछाप जिल्ला स्तरीय सार्वजनीक सुनुवाई सम्पन्न, ५८ वडामा समुदाय प्रहरी समिति गठन

 
रामेछाप । पुस २१ गते

जिल्ला प्रहरी कार्यालय रामेछापले सञ्चालन गरेको सामुदाय– प्रहरी साझेदारी कार्यक्रमको जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार मन्थलीमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक अमरेन्द्रबहादुर सिंहले सो कार्यक्रम अन्तर्गत भएका गतिविधिको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख सिंहले कार्यक्रम सुरु भए यता रामेछाप जिल्लामा जिल्ला स्तरीय समुदाय प्रहरी समिति, २ वटा नगरपालिका र ६ वटै गाउँपालिकामा पालिका स्तरी समुदाय प्रहरी समिति गठन भएको जानकारी दिए । साथै जिल्लाका ६४ वटा वडामध्ये ५८ वटा वडामा पनि वडास्तरीय सो समिति बनि सकेको उनले जानकारी दिए । यसैगरि जिल्लाका ४० वटा सामुदायिक विद्यालयहरुमा समेत प्रहरी विद्यालय सम्पर्क समितिहरु बनि सकेको उनले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रदेश नं ३ का सांसद शान्तिप्रसाद पौडेलले समय परिवर्तनसँगै अपराधका प्रकृति पनि फेरिएको बताए । उनले यसको लागि प्रहरी र नागरिक पनि चनाखो हुनु पर्ने बताए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिकसँगको सहकार्यबाट नै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकिने बताए ।
मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले प्रहरीलाई सुरक्षा व्यवस्था कायम गर्नको नगरपालिकाले मिलेर काम गर्ने बताए । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैको चाहन समृद्ध समाज निर्माण  गर्ने भएकोले सहयोग र सहकार्य गरेर अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा मन्थली नगरपालिका जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख, नागरिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकार र सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममा मालपोत कार्यालयले जिल्ला ट्राफिक कार्यालयको नाममा आकासेमा दर्ता भएको हाल ट्राफिक प्रहरी कार्यालय रहेको स्थानको १ रोपनी ५ आना जग्गाको जग्गाधनिपूर्जा समेत प्रहरी प्रमुख सिंहलाई हस्तान्तरण गरिएको स्थानीय सामाजिक अगुवा गोपाल श्रेष्ठले जनाकारी दिए ।

 

प्रतिकृया दिनुहोस