रामेछापमा स्थानीय सरकार र नागरिक संस्था बीचको सम्बन्धका बारेमा छलफल


रामेछाप । पौष २५ गते,
रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय सरकार र नागरिक संस्था बीचको सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रम यूएसएडको आर्थिक सहयोग , एफएचआई ३६० र हुराडेग दोलखाको सहजिकरण र गैरसरकारी संस्था महासंघ रामेछापको समन्जयमा आयोजना गरिएको होे ।
गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तीन नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले नागरिक संस्था र सरकार मुलुककोे विकास र समृद्धिका लागि मिले जानुपर्ने बताए । मन्थली बजार क्षेत्रमा तत्काल बाइपास सडक निर्माण गर्न मन्थली नगरपालिकालाई उनले निर्देशन समेत दिए ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जिल्ला समन्वय समिति नागरिक संस्थाहरुसंग सहकार्य गरेर अगाडी बढ्ने बताए । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले सुशासन स्थापनाका लागि मन्थली नगरपालिका तेस्रो पक्षलाई अनुगमन गराउन तयार रहेको बताए । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले देखिएको समस्याका बारेमा बसेर छलफल गरी समाधान गर्नुपर्नेमा जोड दिए । संविधान सभाका सदस्य तारानारायण श्रेष्ठले हरेक क्षेत्रमा विकृती रहेको बताउदै यसको समाधानका लागि सबै एक भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष भुवन कुमार श्रेष्ठ , नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल , रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहाल र अधिवक्ता झम्क कडेलले स्थानीय सरकार र नागरिक संस्थाको भुमिकाका बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।  निर्वाचित जनप्रतिनिधिहरु ,जिल्ला स्थित नागरिक संस्थाका प्रमुख , नागरिक अगुवा, संचारकर्मी लगाएतको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले नागरिक संस्था र सरकार बीचको सम्बन्धका बारेमा आफ्नो धारणा राखेका थिए ।

 

प्रतिकृया दिनुहोस