विद्यालयको भवन नबन्दा विद्यार्थीहरु खुल्ला आकाशमुनी पढ्दै

विद्यालयको भवन नबन्दा विद्यार्थीहरु खुल्ला आकाशमुनी पढ्दै
रामेछाप । माघ १ गते,

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ सल्लेमा विद्यालयको भवन नहुँदा विद्यार्थी खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । श्री केवलेश्वर आधारभूत विद्यालयका विद्यार्थिहरु २०७२ को भूकम्पले विद्यालय भवन भत्काएपछि खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका हुन् ।
भूकम्प गएको साढे तीन बर्ष पुग्दा समेत  विद्यालयको भवन पुननिर्माण हुन सकेको छैन । भूकम्पपछि चाइल्ड फण्डले बनाइदिएको अस्थायी सिकाई केन्द्र पनि जिर्ण भएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म पढाई हुने विद्यालयमा जम्मा १८ जना विद्यार्थिहरु छन । अस्थायी टहरा पनि जिर्ण भएपछि बाहिरै डेस्क बेन्च राखेर पठन पाठन गरिँदै आएको छ । सबै कक्षाको विद्यार्थिहरुलाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद घिमिरेले बताउनुभयो ।
भवन बनाउनको लागि जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) रामेछापमा पनि ध्यानकर्षण गराइएको र विभिन्न संघसंस्थासँग सहयोग मग्दा पनि कसैले वस्ता नगरेको उनको भनाई छ । विद्यालयमा २ जना स्थायी ,  एक जना राहत अनुदान गरी ३ जना शिक्षक र एक जना सहयोगी कर्मचारी गरी ४ जना कार्यरत छन । विद्यालयका शिक्षक विनोद घिमिरेका अनुसार पठन पाठनमा निकै समस्या छ । साना बालबालिका जाडोमा थरथर काम्दै र गर्मिमा तातोघामको रापमा सेक्किदै अध्यन गर्न बाध्य छन । विहान १० बजेदखि बेलुका ४ बजेसम्म विद्यार्थिहरुलाई बाहिरै खुल्ला आकाशमुनि राखेर पढाउन निकै समस्या भएको शिक्षक घिमिरेले बताए ।

 

प्रतिकृया दिनुहोस