मानापाथि बचतको वार्षिक साधारणसभा सम्पन्न, एक वर्षमा एकलाख १५ हजार कमायो


रामेछाप । माघ ७ गते,
स्थानीय २५ जना महिलाहरुले समुह बनाएर सुरु गरेको रामेछापको लिखु तामाकोसी गाउँपालिका ५ नागदहको मानापाथि बचत तथा ऋण सहकारी संस्थाले यस वर्ष १ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । सहकारीको सोमबार भएको वार्षिक साधारण सभामा कोषाध्यक्ष निमाईँ तामाङले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले यस वर्ष २९ लाख २६ हजार रुपैयाँको कारोवार गरि सो मुनाफा कमाएको उल्लेख छ ।
सहकारीका अध्यक्ष वासा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले १६ लाख ८८ हजार रुपैयाँ बचत तथा १५ लाख ३८ हजार रुपैयाँ ऋण लगानि गरेको जानकारी दिइएको थियो । कार्यक्रममा संस्थाका सचिव छिरिङ तामाङले हाल सहकारीका २ सय ८१ जना शेयर सदस्य तथा ६५ बाल बचतकर्ता रहेको पनि जानकारी दिए । सहकारीको शेयर पुँजि भने ६ लाख १८ हजार रुपैयाँ रहेको छ ।
कार्यक्रममा बाल्दै जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख दीपा पाख्रिनले सहकारीमा महिला सदस्यको संख्या बढी भएकोमा खुसी व्यक्त गरिन् । उनले महिला सदस्यहरुलाई आयआर्जन गर्ने काममा सहुलियत ऋण दिने गरि योजना बनाउन सहकारीलाई आग्रह गरिन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष सोमबहादुर तामाङले सहकारीका सदस्यहरुको शिप तथा क्षमता विकास कार्यक्रमको लागि वडा कार्यालयले आर्थिक सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै पूर्व गाविस अध्यक्ष अशबहादुर तामाङले जागरण नेपाल नामक संस्थाले सहजिकरण गरी बनाएको २५ जना महिलाबाट सुरु गरिएको संस्था यो अवस्थामा आउनु सुखद भएको बताए । उनले जागरण नेपालले द्वन्द्वको बेलमा २५ जना महिलाहरुको समुह बनाई उनीहरुलाई बिउ पुँजिको रुपमा २५ हजार रुपैयाँ प्रदान गरेर बचतको सुरुवात गराएको स्मरण गराए । त्यस यता जागरण नेपालले नागदहमा निरन्तर सहयोग गरेकोमा उनले धन्यवाद समेत दिए ।
सो सहकारी संस्थाको नागदहमा आप्mनै भवन समेत रहेको छ । भवन निर्माणको लागि काठमाडौँमा रहेको जागरण नेपाल नामक संस्थाले आर्थिक सहयोग गरेको थियो । सोही संस्थाको सहयोमा सहकारीका महिलाहरुको शिप विकासको लागि शिलाई मेशिन समेत प्रदान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस