विद्यार्थीहरुमा ज्वरोको संक्रमण फैलीएपछि रामेछापको गौरीशंकर मावि दुई दिनको लागि बन्द


रामेछाप । माघ १० गते
विद्यार्थीहरुमा  ज्वरोको संक्रमण फैलिएपछि रामेछापको गौरीशंकर मावि बन्द भएको छ । विद्यालय बिहिबार र शुक्रबार २ दिनका लागि बन्द गरिएको विद्यालयका प्रधानाध्यापक निरबहादुर कार्कीले बताए ।
चिसोले विद्यार्थी तथा शिक्षकहरु समेत विरामी परेपछि विद्याल बन्द गर्नु परेको प्रधानाध्यापक कार्कीले बताए । कार्कीका अनुसार विद्यालयको आधरभूत तहका कक्षाहरु विद्यार्थी विरामी परेका कारण बुधबार नै खाली जस्तै भए । त्यस्तै माथिल्लो कक्षाका विद्यार्थी र शिक्षकहरु समेत विरामी परेकाले विद्याथ व्यवस्थापन समितिसँग सल्लाह गरि २ दिनको लागि विद्यालय बन्द गरिएको उनले बताए ।
बिहिबार र शुक्रबार विद्यालय बन्द गर्दा शनिबार विदानै भएकोले आइतबारबाट कक्षा सञ्चालन गर्ने योजना बनाएको कार्कीले बताए । आइतबार विद्यार्थीको उपस्थितिलाई हेरेर थप निर्णय गर्ने पनि उनले जानकारी दिए ।
विद्यालय आएका अधिकाँस विद्यार्थीहरुमा पनि रुघा खोकी तथा ज्वरो देखिएपछि विद्यालय बन्द गरिएको हो ।
चिसो बढेसँगै स्वास्थ्य संस्थाहरुमा पनि बिरामीहरुको चाप बढेको छ । जिल्ला अस्पता रामेछाप प्राथमिक स्वास्थ्य केन्द्र मन्थली, मन्थलीमा रहेको सहकारी तथा निजि अस्पताल तथा गाउँगाउँमा रहेका स्वास्थ्य संस्थाहरुमा समेत दम, रुघा, खोकी तथा ज्वरोका बिरामीहरु बढेका छन् ।
मौशम परिवर्तन र चिसोको कारण स्वास्थ्य संस्थाहरुमा आउने बिरामीहरुको चाप केही बढेको जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर पुष्पराज अधिकारीले बताए ।
रुघाखोकी, घाँटी दुख्ने समस्या तथा ज्वरोका बिरामीहरुको चाप बढेको उनले बताए । तर यो मोशमी भाइरस भएकोले आत्तिनु पर्ने अवस्था नरहेको उनले बताए ।
 

 

प्रतिकृया दिनुहोस