रामेछापमा पुलको सामाग्री काटेर लैजाँदै गरेको ट्रक नियन्त्रणमा


रामेछाप । माघ २१ गते,
रामेछापको बाढीले बगाएको छतिवने खोलाको मोटरपुलका स्टिलट्रसका सामाग्री काटेर निकासी गर्न लागेको कवाडी व्यवसायीलाई ट्रक सहित रामेछाप प्रहरीले रामेछापको गेलुमा नियन्त्रणमा लिएको छ । डेढ वर्षअघि रामेछापको छतिवने खोलाबाट बगाएको पुलको सामान उठाएर लैजाँदै गरेको ना ५ ख ८२४९ नम्बरको ट्रक गेलुको सिक्रालमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सामान लैजानै व्यवसायी मन्थली नगरपालिका १२ का वडा सदस्य मुकुन्द भन्ने उमेश कार्की हुन् । उनले कवाडी कारोबार गर्ने व्यक्तिलाई बोलाएर पुलको सामान ट्रकमा लोड गराएका थिए । लोड गरेको सामग्री मध्ये केही सामान झारिएको र केही अझै ट्रकमा रहेका छन् । प्रहरीले सामाग्री सहितको ट्रकलाई  नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक शेष अदालतले नियन्त्रणमा लिइएका व्यवसायीलाई कवाडी सामाग्री खरिद गरेको प्रमाण पेस गर्न भनिएको बताए ।  तर व्यवसायीले वडाको सिफारिसको आधारमा उक्त सामाग्रीहरू लैजान लागेको बताएका छन् । वडा कार्यालयले करिब २ ट्रक सामाग्री लैजानका लागि कवाडी दस्तुर बापत ३ हजारको रसिद काटेर सामान लैजान सिफारिस दिएको थियो । छतिवनेबाट बगेका उक्त सामान मन्थली नगरपालिकाको १२ नम्बर अम्बास बगरमा पुगेका थिए । वडा अध्यक्ष कृष्णहरी अधिकारीले डेढवर्षदेखि वेवारिसे अवस्थामा कोसीको बगरमा बसेको सामाग्री आफ्नै खर्चमा झिकेर लैजान्छु भनेकाले कवाडी दस्तुर लिएर सिफारिस दिएको बताए । छतिवने खोलामा जापान सरकारको सहयोगमा निर्माण भएको उक्त पुलको तथ्याङ्क जिल्लाका कुनै पनि निकायमा छैन । स्थानीय विकास मन्त्रालयको डोलीडार विभाग मार्फत जापनिज नागरिकको सहयोगमा निर्माण भएको उक्त पुल सम्बन्धित निकायलाई हस्तान्तरण हुनै नपाइ बगेको हो । निर्माण भएको २ वर्षमा नै बाढीले उक्त पुल बगाएको थियो ।

प्रतिकृया दिनुहोस