सरकारी कार्यालय स्थानान्तरणको विरोधमा धर्ना

सिन्धुली । असोज ११ गते,
सिन्धुली जिल्लामा संचालित सरकारी कार्यालयहरु सिन्धुलीबाट बाहिर जिल्लामा स्थान्तरण हुने भएपछि नागरिक समुह, स्थानीय, जनप्रतिनिधि, राजनैतिक दलका भातृसंगठन लगायत संघ संस्थाले बिहीबार धर्ना बसेका छन । सिन्धुलीको सहकारी विकास तथा भवन डिभिजन कार्यालय , भू–संरक्षण कार्यालय , सिँचाइ डिभिजन कार्यालय , जनस्वास्थ्य कार्यालय , प्राविधिक कार्यालय लगायतका लामे समयदेखी सिन्धुलीमा रहेका सरकारी कार्यालयहरू सरकारले अन्यत्रै स्थानान्तरण गर्न लागेको भन्दै त्यसको विरोधमा धर्नामा बसेका हुन् । नागरिक समाज, सिन्धुलीको अगुवाईमा सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुली अगाडि धर्नामा बसेका स्थानीयले सरकारले सरकारी कार्यालयहरू अन्यत्रै स्थान्तरण गर्न निर्णय गरेर सिन्धुलीका जनतालाई सेवा सुविधाबाट बन्चित गर्न खोजेको भन्दै गुनासो गरेका छन् ।
सिन्धुलीको नागरिक समाजको प्रहाल्द पोखरेलको अगुवाईमा बसेको धर्नापश्चात् बिहीबार नै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । शक्ति, पहुँच र दबाव जस्ता विकृत अभ्यास र प्रभावले जिल्लामा रहेका कार्यालयहरू अन्यत्र कायम तथा स्थान्तरण गरिनु सरकारमा न्यायोचित आचरण अभाव देखिएको ज्ञापनपत्रमा उल्लेख छ । शक्ति, पहुँच र दबाव जस्ता विकृत अभ्यास र प्रभावले सरकारी कार्यालय अन्यत्रै कायम तथा स्थान्तरण गर्ने अभियान अहिले देखिएको भन्दै सरकारको त्यही नियत र कुन्ठाको सिकार सिन्धुलीका जनता परेको ज्ञापनपत्रमा जनाइएको छ । सरकारले तत्काल जिल्लाका सरकारी कार्यालय स्थान्तरण गर्ने निर्णय फिर्ता लिनुपर्ने स्थानीयको माग छ । सरकारले सिन्धुलीका नागरिकको मागलाई बेवास्ता गरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर अन्दोलन सुरु गर्ने कमलामाई नगर पालिका वडा नं–५ का वडा अध्यक्ष पुर्णबहादुर खडकाले बताए।

 

प्रतिकृया दिनुहोस