बुढीसँगै भद्रगोल खेल्न पुगे माग्ने बुढा, साथमा दीपक र दीपा पनि

काठमाडौं । असोज १९ गते,
नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘भद्रगोल’मा यसपटक दर्शकले तीन जना नयाँ कलाकार देख्न पाउने भएका छन् । यस पटक भद्रगोलमा सिनेमा छक्का पञ्जा ३ को प्रचारको लागि कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे पुगेका हुन् ।  हास्य श्रृंखला ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका छन् । सिनेमा निर्माणमा लागेपछि उनीहरु श्रृंखलामा देखिएका छैनन् । यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउने भएका छन् ।  गएको वर्ष पनि सिनेमाको प्रचारकै लागि निर्देशक तथा कलाकार दीपाश्री निरौला जिरे खुर्सानीको एक एपिसोडमा पुगेकी थिइन् ।
तर उनी त्यहाँ एकलै पुगेकी थिइन् । यस पटक भने उनको साथमा दीपक पनि भएका कारण दर्शकले फरक स्वाद पाउने छन् । त्यस्तै भद्रगोलमा सिनेमाको प्रचारकै लागि कलाकार केदार घिमिरेको उपस्थितिले पनि दर्शकले केही नयाँपन महसुस गर्न पाउनेछन् । केदारकी श्रीमती सीता घिमिरे पनि भद्रगोलकी नियमित कलाकार हुन् । उनी यस श्रृंखलामा चन्द्रमुखीको भूमिकामा छिन् ।  यस हिसाबले केदार र उनकी श्रीमती सीतालाई पनि दर्शकले फेरि एक पटक पर्दामा एक साथ देख्न पाउनेछन् ।  यस अघि उनीहरुले मेरी बास्सैमा श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका थिए ।

 

प्रतिकृया दिनुहोस