दोरम्बा गाउँपालिकाले प्रवाह गरेको विकास निर्माण र सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाई

रामेछाप । असोज २३ गते,

रामेछापको दोरम्बा गाउँपालिकाले मंगलबार आर्थिक वर्ष २०७४—७५ भित्र भएको विकास निर्माण र सार्वजनिक सेवाको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा गाउँपालिका भित्र रहेका सात ओटै वडाका नागरिकहरुको सहभागिता रहेको थियो । नागरिकहरुले आफ्नो गाउँपालिका भित्र भएको विकास निर्माणका बारेमा जिम्मेवार अधिकारीसंग हाकाहाकी प्रश्न गरेका थिए । सार्वजनिक सुनुवाईमा यही तिहास अगाडीनै गाउँपालिकामा बडापत्र टाँस गर्ने, गाउँपालिमा खटाइएका सबै कर्मचारीहरु आफ्नो कार्यस्थलमा गई नियमित सेवा प्रवाह गर्ने, गाउँपालिका ४ वटा बजार केन्द्रमा २०७६ बैशाखसम्म सार्वजनिक शौचालय निर्माणको काम पुरा गरी सञ्चालनमा ल्याउने र यसै आर्थिक वर्षको बजेटबाटै गाउँपालिकाका दलित, महिला लगायतका लक्षित समुदायको उत्थानको लागि गाउँपालिकाले आवश्यक जेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरिएको छ । सेवाग्राहीहरुको प्रश्नको उत्तर गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, प्रमुख प्रशासकीय अधिकृत बिनोद कोइराला र सात ओटा वडाका वडा अध्यक्षहरुले दिनुभएकोे थियो । सार्वजनिक सुनुवाई पछि छोटो प्रतिक्रिया दिँदै रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेकपाका नेता तुलाप्रसाद कँडेल, जिल्ला सचिव आनन्द श्रेष्ठ, हिरा श्रेष्ठ, नेपाली कांग्रेसका गाउँपालिका सभापति केशव लामा र नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले सार्वजनिक सुनुवाई निकै प्रभावकारी भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण रेडियो तीनलाल एफएमको तर्फबाट पत्रकार नवराज पथिक र कैलाश खत्रीले गर्नुभएको थियो । सोही कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रामेछापले भूकम्प पछिको पुननिर्माणको बारेमा छलफल गरेको छ । कार्यक्रमको सञ्चालन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रामेछापका प्रमुख दिपक के.सी ले गर्नुभएको थियो । सहभागिले उठाएको प्रश्नको जवाफ कार्यालयको प्राधिकरणको तर्फबाट दामोदर घिमिरे र प्राविधिकहरुले दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस